राष्ट्रिय किताबखाना (प्रहरी) तपाईलाई स्वागत गर्दछ i

प्रहरी कर्मचारीहरुको अभिलेख ब्यवस्थित गरी नियमानुसार पाउने सुविधाहरु उपलब्ध गराउने काम २०३५ साल भन्दा अगाडि निजामती किताबखानाबाट भईरहेको थियो । निजामती सेवा र प्रहरी सेवामा प्रवेश गर्ने कर्मचारीहरुको बढ्दो संख्या र सेवा संचालन गर्ने फरक फरक मन्त्रालय भएकाले प्रहरी कर्मचारीहरुको अभिलेख राख्न र उनीहरुलाई नियमानुसारका निवृत्तिभरण, उपदान लगायतका सुविधाहरु उपलब्ध गराउन वि.सं. २०३५ सालमा छुट्टै निकायको रुपमा प्रहरी किताबखानाको स्थापना भएको हो । प्रहरी किताबखानाको स्थापनाकालमा सीमित संख्याका प्रहरी कर्मचारीहरुको अभिलेख राख्नुपर्ने अवस्था थियो तर नेपाल प्रहरीमा दिनानुदिन प्रहरी कर्मचारीको संख्या बढिरहेको र २०५८ सालमा सशस्त्र प्रहरी वलको स्थापना भएपछि दुबै प्रहरी संगठनका प्रहरी कर्मचारीहरुको अभिलेख राख्ने जिम्मेवारी समेत यस किताबखानामा थप भयो । यसरी प्रहरी कर्मचारीहरुको अभिलेख व्यवस्थित गर्न स्थापित यस किताबखानामा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, राष्ट्रिय अनुसन्धान विभाग तथा राष्ट्रिय सतर्कता केन्द्रको मातहतमा रहेका सम्पूर्ण प्रहरी कर्मचारीहरुको अभिलेख व्यवस्थित गर्नुका साथै उनीहरुलाई निवृत्तिभरण, उपदान, पारिवारिक निवृत्तिभरण, असाधारण पारिवारिक वृत्ति, अशक्त वृत्ति, सन्तति वृत्ति लगायतका नियमानुसारका सुविधाहरु प्रदान गर्ने कार्यमा अभिलेख विवरण व्यवस्थित रुपमा राख्नका साथै उपलब्ध गराउने व्यवस्था गर्दे आएको छ । त्यसरी नै प्रहरी कर्मचारीहरुको तलबी प्रतिवेदन पास गर्ने, स्केल मिलान गर्नुका साथै सम्पत्ति विवरण अध्यावधिक गर्ने दायित्व समेत यस किताबखानामा थप भए अनुसार सो कार्यलाई पनि व्यवस्थित गरिएको छ  ।